विश्व वातावरण दिवसको अवसरमा चिल्ड्रेनपार्कको सरसफाइ अभियान
धादिङ । विश्व वातावरण दिवस २०२५ को अवसरमा धादिङबेसीको नीलकण्ठ ४ मा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले आज सरसफाइ अभियान सम्पन्न गरेको छ ।
“हाम्रो वातावरण, हाम्रो जिम्मेवारी” भन्ने नारासहित सञ्चालन गरिएको सरसफाइ अभियानमा विद्यालयका शिक्षक, विद्यालय नर्स र कक्षा ५ र ८ का विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । यो अभियानमा विद्यालयभित्र र वरिपरीका सिम्लेगैरी र रायटार क्षेत्रका सडक, नाली र सार्वजनिक स्थलहरूको सरसफाइ गरिनुका साथै ब्यानर सहितको वातावरणीय सचेतनामूलक सन्देश फैलाइएको थियो ।
विद्यालयका साइन्स तथा इको क्लवका संयोजक इन्द्रराज श्रेष्ठले वातावरण संरक्षणमा विद्यालयको भूमिका महत्वपूर्ण हुने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास गराउने बताए ।कार्यक्रममा सहभागी विद्यार्थीहरूले फोहर संकलन गर्दै सरसफाइमा सहभागी भएको देख्दा अभिभावक र स्थानीय बासिन्दाले यो सरसफाइ अभियानप्रति खुसी व्यक्त थिए । साथै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रम सञ्चालन गर्ने प्रधानाध्यापक षष्टिकुमार श्रेष्ठले प्रतिबद्धता गर्नुभयो ।
